ढोरपाटन बुकीपाटन पर्यटकको आकर्षण बन्दै, चिसो बढेसँगै सुनसान

dhor patan aajakaura

ढोरपाटन, कार्तिक २८ – चिसो मौसमको सुरुवातसँगै गोठाला बेँसी झरेपछि बुकीपाटन सुनसान बनेको छ। नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्रभित्र पर्ने यो स्थान आन्तरिक र बाह्य पर्यटकको आकर्षणमा पर्दै आएको छ। विशेषगरी असारदेखि कात्तिकको पहिलो सातासम्म गोठाला र पर्यटकको चहलपहल रहने बुकीपाटन यतिबेला शान्त छ।

ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनका अनुसार, असारदेखि असोजसम्म झन्डै तीन हजार पर्यटकले बुकीपाटन भ्रमण गरेका थिए। चारैतिर हरियाली, उत्तरतर्फ हिमाल, र पाटनभरि छरिएका भेडाका बथानले यो क्षेत्रलाई विशेष बनाउँछ। पुनले बताए अनुसार, यो वर्ष अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी पर्यटक पुगेका छन्। सञ्चार माध्यमबाट प्रचारप्रसार हुन थालेपछि बुकीपाटनमा पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको पुनले जानकारी दिए।

उनले भने, “यदि विदेशी पर्यटकलाई बुकीपाटन ल्याउन सकियो भने यस क्षेत्रका नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्थ्यो। ढोरपाटन उपत्यकादेखि बुकीपाटन जोड्ने पदमार्ग र पूर्वाधार निर्माण गरे पर्यटकको आकर्षण अझै बढाउन सकिन्थ्यो।”

समुन्द्र सतहदेखि २,९०० देखि ४,५०० मिटर उचाइमा रहेको बुकी क्षेत्र गोठालाको अस्थायी बासस्थान हो। यहाँ बर्खा मौसममा सयौं गोठाला हजारौं भेडाबाख्रा र गाईभैँसीसहित बस्ने गर्दछन्। ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरका अनुसार, बुकीपाटनमा आउने पर्यटकले गोठालाको जनजीवन नजिकबाट अनुभव गर्ने मौका पाउँछन्।

उनले भने, “बुकीपाटनको भ्रमणका लागि बर्खा नै उपयुक्त समय हो। बर्खामा यहाँ पुग्ने पर्यटकले धेरै दिन उतै बिताउने गर्छन्। जति हेरे पनि, हेरिरहुँ लाग्ने रमणीयता बुकीपाटनको विशेषता हो।”

बुकी क्षेत्रमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीजस्ता आकर्षक स्थल छन्, जसले पर्यटकलाई अझै लोभ्याउने गर्छ।

रासस

समन्धित समाचार