अघिल्लो साता काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै भिडिओ बनाउने युवालाई प्रहरीले नछाड्ने भएको छ ।
बंगलादेशसँग नेपाल पराजित भएको खेल सुरु हुनुअघि प्रधानमन्त्रीको नाम नलिई ती युवाले ‘सबैले छेकेर आज बुढोलाई मारौँ, नत्र भोलि त्यो मौका नआउन सक्छ’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनको भिडिओ सार्वजनिक भएपछि धेरैले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भन्दै कारबाही गर्न माग गरेका थिए । कतिपयले भने माफी दिनपुर्ने बताएका थिए । भिडिओमा हिंसा फैलाउने कुरा गरेकाले कारबाहीको माग भएपछि ती युवाले माफी मागेका थिए । उनले भिडिओमा माफी मागेपछि साइबर ब्यूरोले भने नछाड्ने भएको छ ।
चितवनबाट विद्यार्थी भिसामा जापान गएका रतन कार्की नाम गरेका युवकले सो भिडिओ बनाएका थिए । जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
