भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ ।
पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको अनुसार ले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको छ ।
युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ । आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ । सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ ।
यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो ।
